logo/prilogo-1_suadpzs.jpeg

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र नीति अनुसन्धान प्रतिष्ठानको अन्तर्क्रिया सम्पन्न

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र नीति अनुसन्धान प्रतिष्ठानको अन्तर्क्रिया सम्पन्न

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र नीति अनुसन्धान प्रतिष्ठानको अन्तर्क्रिया सम्पन्न

२०८१ जेठ २३

संघीय संसद सचिवालय, सिंहदरबार

आज राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको निमन्त्रणामा नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको नेतृत्वमा प्रतिष्ठानका विभाग प्रमुखहरू र वरिष्ठ अनुसन्धानकर्ताको एक टोलीले समितिका माननीय सभापति तथा माननीय सदस्यहरूसँग भेटघाट गर्नुका साथै प्रतिष्ठानको गतिविधि र नेपालमा सार्वजनिक नीतिको अवस्थाको विषयमा अन्तरक्रिया गर्‍यो ।

कार्यक्रममा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति श्री माया प्रसाद शर्माले प्रतिष्ठानको टोलीलाई स्वागत गर्दै समितिको कार्यक्षेत्र, काम, कर्तव्य र अधिकारको बारेमा बताउनु भयो र सार्वजनिक नीति विषयलाई समितिको कार्यक्षेत्रमा हालै मात्र समावेश गरेको सन्दर्भमा सार्वजनिक नीति निर्माण प्रक्रिया र कार्यान्वयनको स्थिति बारेमा जान्न र समितिको यस कार्यक्षेत्रमा प्रतिष्ठानले के कस्तो सहकार्य र योगदान गर्न सक्दछ भन्ने विषयमा जान्न यो अन्तर्क्रियाको आयोजना गरिएको बताउनुभयो ।

तत्पश्चात् नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले सार्वजनिक नीतिका कारक तत्त्वहरूको बारेमा र विश्वमा थिङ्‍क ट्याङ्‍कहरूको अवस्था र भूमिकाको बारेमा सङ्‍क्षिप्तमा बोल्नुभएपछि प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी र डा. हरि शर्मा न्यौपानेले सार्वजनिक नीतिको परिचय, नीति निर्माण प्रक्रिया, नीति प्रक्रियामा सुधारका क्षेत्रहरू र प्रतिष्ठानको परिचय तथा कार्यसम्पादनबारे प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिपछि माननीय सदस्यहरूले विविध विषयमा जिज्ञासा र सुझावहरू राख्नुभएको थियो ।

माननीय सभापति तथा सदस्यहरूले नीतिहरूको कार्यान्वयनमा भएका ढिलासुस्ती वा अनिच्छा, अन्तरमन्त्रालय र अन्तरनिकाय समन्वयको अभाव, अनुसन्धान बिना नै निर्णय गर्ने प्रचलन, गठन आदेश जस्ता प्रत्यायोजित विधायनमा सुधारको आवश्यकता, नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगको कामको विशिष्टता, सांसदहरूको भूमिका हाल सीमित रहेको अवस्था, सार्वजनिक नीतिको व्यापकता, र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा नीति अनुसन्धान प्रतिष्ठानको सम्बन्ध र सहकार्य आदिका विषयमा अफ्ना सङ्‍क्षिप्त विचार व्यक्त गर्नुको साथै जिज्ञासा राख्नु भएको थियो । माननीय सदस्यहरूको जिज्ञासाको उत्तर प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्का, डा. कल्पना खनाल, डा. मुक्ति रिजाल, डा. हरि शर्मा न्यौपाने, डा. खगनाथ अधिकारी, कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराई र कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले दिनुभएको थियो । उत्तर दिएका विषयहरूमा सार्वजनिक नीतिका पाठ्यपुस्तकीय सिद्धान्त, प्रतिष्ठानले गरेको सैद्धान्तिक अध्ययन र तयार गरेका दिग्दर्शनहरू, नीति अनुसन्धान प्रतिष्ठान कार्यकारी भूमिका नभएको विशुद्ध अनुसन्धान संस्था भएकोले नीति चक्रको सिद्धान्त अनुसार नीति अनुसन्धान र नीति निर्माणको शृङ्खलागत सम्बन्ध सहितको स्वायत्तता तथा कार्यगत विशिष्टीकरणको परिपालना हुने पेशानिष्ठताको अवस्था, प्रतिष्ठानको विधेयक, प्रतिष्ठानलाई स्रोत भएमा अनुसन्धानको लागि मानव संसाधनको अभाव नहुने अवस्था, आदि विषयहरू रहेका थिए ।

कार्यक्रमको अन्त्यमा माननीय सभापति श्री माया प्रसाद शर्माले अन्तर्क्रिया अत्यन्त उपयोगी र शिक्षाप्रद रहेको र समिति र प्रतिष्ठानबिच सम्बन्ध र सहकार्यहरूको आरम्भ भएको बताउनुभयो । वहाँले प्रतिष्ठानको ऐन निर्माणको लागि समितिले निर्देशन दिने, स्रोतको लागि पैरवी गरिदिने र उपयुक्त समयमा राष्ट्रिय सभामा एक सङ्कल्प प्रस्ताव लैजाने बताउनुभयो । वहाँले आजको राज्यको आवश्यकता “उच्च ज्ञान, सरल प्रशासन” हो र यसलाई कसरी जीवन्त बनाउने भन्ने प्रश्नले नै हाम्रा प्रयासहरूलाई मार्गदर्शन दिनुपर्छ भन्ने मन्तव्यका साथ बैठकको समापन गर्नु भयो ।

उपस्थिति:

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति:
मा. माया प्रसाद शर्मा (सभापति)
मा. गोमादेवी तिमल्सिना
मा. गोपाल कुमार बस्नेत
मा. नर बहादुर बिष्ट
मा. पदम बहादुर परियार
मा. बल देव बोहरा
मा. मदन कुमारी शाह (गरिमा)
मा. युवराज शर्मा
मा. रुक्मिणी कोइराला
मा. रेनु चन्द
मा. श्रीकृष्ण प्रसाद अधिकारी
मा. सुमित्रा बि.सी.

नीति अनुसन्धान प्रतिष्ठान:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. दीपक कुमार खड्का
डा. हरि शर्मा न्यौपाने
श्री लक्ष्मण प्रसाद भट्टराई
डा. मुक्ति रिजाल
डा‍ खगनाथ अधिकारी
डा. कल्पना खनाल
रीजा मानन्धर
बिमल चन्द्र शर्मा

 

कार्यक्रमका फोटोहरुका लागि यहाँ क्लिक गर्नु होला