वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
११ मङ्सिर, २०८२
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय परमाणु नीति, २०६४” को समीक्षात्मक अध्ययन अघि बढाएको सन्दर्भमा सो अध्ययनको लागि सरोकारवाला तथा विज्ञहरूसँग राय, सुझाव लिने, आवश्यक तथ्याङ्क सङ्कलन गर्ने तथा अध्ययनको प्रारम्भिक मस्यौदा उपर पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले प्रतिष्ठानको सभा हलमा “नेपालमा परमाणु प्रविधिको प्रयोग: समस्या, अवसर र नीति” विषयक सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खानी तथा भूगर्भ विभाग लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । त्यसैगरी, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाली सेना, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल सेन्टर अफ न्यूक्लियर मेडिसिनका प्रतिनिधिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू लगायत अन्य अनुसन्धान र शिक्षण संस्थाका प्रतिनिधिहरू, विषय विज्ञहरू तथा प्रतिष्ठानका अनुसन्धाताहरूको उक्त संवादमा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका विश्लेषक प्राञ्जल रिजालले गर्नुभएको थियो ।
कार्यक्रमको औपचारिक सुरुआत गर्दै र प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै सहभागी विज्ञहरूको राय, सुझावले प्रतिवेदनलाई सुदृढ र सबल बनाउन दिशानिर्देश गर्ने बताउनुभयो । साथै, महत्त्वपूर्ण समय प्रतिष्ठानलाई प्रदान गरी नीति संवादमा उपस्थित हुनुभएकोमा उहाँले सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो ।
मन्तव्यपश्चात् प्रतिष्ठानका अनुसन्धानकर्ता डा. सुवास अधिकारीले अध्ययनको प्रारम्भिक मस्यौदाबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले आफ्नो प्रस्तुतीकरणमा आणविक विज्ञानको पृष्ठभूमि, आणविक नीति, अनुसन्धान र विकासका लागि संलग्न अन्तर्राष्ट्रिय संस्थाहरू, परमाणु प्रविधिको उपयोगका क्षेत्रहरूबारे प्रकाश पार्नुभयो । यसका साथै, प्रस्तुतीकरणमा सुरक्षा, ऊर्जा, स्वास्थ्य, कृषि तथा वातावरण लगायत आणविक प्रविधिका आयामहरूसहित छिमेकी राष्ट्रहरूमा आणविक प्रविधिको अवस्थाको विषय पनि उजागर गर्नुभयो । उहाँको प्रस्तुतीकरणले नेपालको राष्ट्रिय परमाणु नीतिसँग सम्बन्धित नीति, ऐन, नियमावली र निर्देशिकासहितका नीतिगत प्रावधानहरू विस्तृत रूपमा समेटेको थियो । कार्यक्रममा प्रस्तुतीकरणपश्चात् छलफलको सत्र रहेको थियो र छलफलको मध्यस्थता प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरूले आफ्नो राय, सुझाव प्रस्तुत गर्ने क्रममा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले आणविक प्रविधिको प्रयोग आधुनिक स्वास्थ्य प्रविधिमा निकै महत्त्वपूर्ण रहेको भए तापनि नेपालमा नीतिगत जटिलताले गर्दा आणविक प्रविधिको नयाँ आविष्कारहरूको निर्यात र प्रयोगमा समस्या रहेको विषय प्रस्तुत गर्नुभयो । यसका साथै आणविक प्रविधि विश्वमा निकै अघि बढेको सन्दर्भमा नेपालमा सामान्य आणविक औषधिमा प्रयोग हुने साइक्लोट्रोनसम्म पनि उत्पादन गर्न नसक्नु एक गम्भीर समस्या रहेकाले नीतिगत रूपमा यी समस्याहरूको सम्बोधन हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
खानी तथा भूगर्भ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्लगायत आणविक प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने निकायका प्रतिनिधिहरूले नेपालको आणविक प्रविधि प्रयोग गर्न आवश्यक पूर्वाधार र दक्ष मानवस्रोतको अवस्था निकै कमजोर रहेको र यसको विकास एवम् विस्तार गर्न नीतिले सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।
यसका साथै नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले आणविक प्रविधिको शान्तिपूर्ण प्रयोग अहिलेको अवस्थामा धेरै क्षेत्रमा एकदमै महत्त्वपूर्ण रहेको तर यस प्रविधिको प्रयोग जोखिमयुक्त र जटिल रहेको हुनाले अब नीतिगत सुधार गर्दा क्षमता विकास, आणविक प्रविधिको सदुपयोग सँगसँगै प्रभावकारी अनुगमन र मूल्याङ्कनको पक्ष पनि समावेश हुनुपर्ने र यस विषयमा सम्बन्धित मन्त्रालयहरू गम्भीर रहेकोमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमका सहभागीहरू:
नीति अनुसन्धान प्रतिष्ठान: