प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

बदलिँदो परिवेशमा सार्वजनिक नीति र कूटनीतिबारे संवाद

बदलिँदो परिवेशमा सार्वजनिक नीति र कूटनीतिबारे संवाद

उद्देश्य
नीति निर्माण र कार्यान्वयनमा देखिएका कमीकमजोरी र समस्याहरूको पहिचान गरी समाधानको खोजी गर्न प्रतिष्ठानले सम्बद्ध पक्षसँग सार्वजनिक नीति संवाद आयोजना गर्छ l यही पृष्ठभूमिमा बदलिँदो परिवेशमा हाम्रो द्विपक्षीय र अन्तर्राष्ट्रिय कूटनीति कसरी सञ्चालन गरिनु उपयुक्त हुन्छ सोसम्बन्धी विज्ञ-जानकारहरूसँग अन्तरक्रियाको आयोजना गरियो l नीति प्रतिष्ठानका सल्लाहकारहरू, प्रतिष्ठान विकास समितिका पूर्व सदस्यहरू, अनुसन्धान केन्द्रका वरिष्ठ सल्लाहकारहरू तथा प्रतिष्ठानले प्रकाशन गर्ने “नेपाल पब्लिक पोलिसी रिभ्यु जर्नल” सम्पादन समितिका सदस्यहरूबिच आयोजित अन्तरक्रियाको अध्यक्षता प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले गर्नुभएको थियो l

कार्यक्रममा भारतका लागि नेपालका नवनियुक्त राजदूत तथा नीति प्रतिष्ठानको विज्ञ-समीक्षित जर्नल – नेपाल पब्लिक पोलिसी रिभ्यूका सम्पादन मण्डलका सदस्य डा. शङ्कर शर्मालाई अभिनन्दन समेत गरिएको थियो l

वक्ताहरूको प्रस्तुति

भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले कूटनीतिमा बढी सुन्ने र कम बोल्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै राजनीतिक नियुक्ति पाएको राजदूत र परराष्ट्र मन्त्रालयबिच कुनै प्रकारको ज्ञान तथा सूचनाको खाडल हुन नहुने बताउनुभयो l राजदूत बन्ने कुरालाई राजनीतिसँग जोड्नु ठिक होइन भन्दै वहाँले परराष्ट्र मन्त्रालयको सुदृढीकरण तथा तथ्य र प्रमाणमा आधारित अनुसन्धान र सोहीअनुकूलको व्यवहारको महत्त्वमा पनि जोड दिनुभयो

पूर्व परराष्ट्र सचिव तथा संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्व राजदूत श्री केदार भक्त श्रेष्ठले राजनीतिक नियुक्ति पाएका राजदूतलाई ‘ब्ल्याक होल’ भन्ने गरिएको सम्झँदै उनीहरूबाट आउने सूचना, जिज्ञासा र अनुरोधहरूलाई यदाकदा परराष्ट्र मन्त्रालयले समयमै सम्बोधन नगरिदिने अवस्था रहेको बताउनुभयो l परराष्ट्र मामिलासँग सम्बन्धित भ्रमणलगायत सबै क्रियाकलापहरू परराष्ट्र मन्त्रालयको संयोजनमा मात्र हुनु पर्नेमा जोड दिँदै परराष्ट्र मामिलालाई राजनीतिक आँखाले हेर्न नहुनेमा श्रेष्ठको जोड रह्यो l

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका प्राध्यापक डा. खड्ग के.सी. ले राज्य शक्ति र शासन पद्धतिले वैदेशिक कूटनीतिको तह र प्रभाव निर्धारण गर्ने उल्लेख गर्दै कूटनीतिमा राजनीतिक सहमति र सर्व स्वीकार्यता आवश्यक हुने र यसका लागि राजदूतको कूटनीतिक कौसल तथा अनुभव महत्त्वपूर्ण हुने बताउनुभयो l

राजनीति शास्त्रका प्राध्यापक डा. मीना वैद्य मल्लले परराष्ट्र मन्त्रालयको संयन्त्र कमजोर भएकोमा चिन्ता जाहेर गर्दै परराष्ट्र सम्बन्ध र मामिलालाई राष्ट्रको प्राथमिकतामा राख्न आग्रह गर्नुभयो l कूटनीतिले जनताका सवाललाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले थप्नुभयो – सडक, ड्याम आदि निर्माणका कारण सीमा क्षेत्रमा बसेका नेपाली नागरिकहरूले पाएको पीडाप्रति हाम्रो कूटनीति बेखबर रहन मिल्दैन l

वरिष्ठ शिक्षाविद् प्राध्यापक डा. सुरेश राज शर्माले द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिको सहज सञ्चालनका लागि परराष्ट्र मन्त्रालयका साथै कूटनीतिको क्षेत्रमा क्रियाशील अन्य संघसंस्थाहरूलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो l

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त श्री सूर्यनाथ उपाध्यायले भन्नुभयो – अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मध्यस्थतासम्बन्धी ज्ञान भएको मान्छेले मात्र कूटनीतिक निकायमा प्रवेश पाउनुपर्छ l र, भारत र नेपालबिचको कूटनीतिक सम्बन्धलाई अझ उन्नत बनाउन भारतीय जनतासँगको सम्पर्क विस्तार गर्नु पर्छ l

पूर्व राजदूत तथा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले दिल्लीमा कार्यवाहक राजदूतको रूपमा हासिल गरेको अनुभव सुनाउँदै दिल्लीमा नेपालको सानो रूप (मिनी नेपाल) पाइने हुनाले भारत जाने राजदूतले विभिन्न समूहहरूसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो l कूटनीतिज्ञहरू सरकारप्रति उत्तरदायी हुने बताउँदै उहाँले नवनियुक्त राजदूतलाई भारतको सरकारी संयन्त्रसंग मिलेर काम गर्न उपयुक्त हुने सुझाव पनि दिनुभयो l

त्यस्तै, पूर्व परराष्ट्र सचिव तथा पूर्व राजदूत श्री दुर्गाप्रसाद भट्टराईले नेपालबाट जाने राजदूतहरूले सकेसम्म बढी अनौपचारिक नेटवर्कहरूको प्रयोग गर्नु पर्छ भन्दै परराष्ट्र सेवाबाट आएका कूटनीतिज्ञ कति छन् त्यसमा राष्ट्रको परिपक्वता झल्किने बताउनु भयो l परराष्ट्र सेवाबाट आएका र राजनीतिक नियुक्ति पाएका राजदूतहरूबिच आपसी समन्वय र सम्बन्ध मजबुत रहनु पर्नेमा उहाँले जोड दिनु भयो l

अर्का पूर्व राजदूत डा. दिनेश भट्टराईले पहिलेको तुलनामा अहिले सन्दर्भ बदलिएको र सो बदलावसँगै कूटनीति जटिल हुँदै गएको चर्चा गर्दै कूटनीतिक अनुसन्धान र मानव संसाधन विकासमा थप लगानी आवश्यक रहेको बताउनुभयो l परराष्ट्र मन्त्रालयलाई दैनिक/नियमित काममा मात्र सीमित नभई कूटनीति र परराष्ट्रसम्बन्धी भेटघाटलगायत सम्पूर्ण कामको समन्वय गर्न सल्लाह दिँदै डा भट्टराईले प्रदेश तहबाट परराष्ट्र नीति सम्बोधन गर्ने मनसाय आउनु ठिक नहुने तर्क गर्नु भयो l

पूर्व मुख्यसचिव तथा राजदूत श्री लीलामणि पौडेलले सकेसम्म राजदूतहरू राजनीतिक विवादका विषयमा तानिनु नहुने भन्दै सांस्कृतिक र आर्थिक कूटनीतिलाई पनि सँगै लानुपर्नेमा जोड दिनुभयो l सांस्कृतिक महत्त्वका पर्वहरू मनाउन सहजीकरण गर्ने तथा विश्वविद्यालयहरूमा अतिथि-प्रवचन (गेस्ट लेक्चर) दिने जस्ता नरम-कूटनीतिका औजारहरूको उपयोगले कूटनीतिलाई सहयोग गर्ने उहाँको धारणा थियो l

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. डिल्ली राज खनालले राष्ट्रिय हितको संरक्षण कूटनीतिको प्राथमिकता रहनुपर्नेमा जोड दिँदै अहिले सुदृढ बन्दै गएको भारत-नेपालको सम्बन्धलाई थप सुदृढ बनाउन, व्यापार घाटा कम गर्न र रोकिएका परियोजनाहरू सुचारु गर्न हाम्रो द्विपक्षीय कूटनीति केन्द्रित रहनुपर्ने बताउनुभयो l नेपाल भारतबिचको द्विपक्षीय कूटनीति थप मजबुत बनाउन धार्मिक पर्यटनको प्रवर्धन गर्नु महत्त्वपूर्ण हुने बताउँदै नीति अनुसन्धान प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष डा. गणेश गुरुङले थप्नु भयो कूटनीतिज्ञहरू देशवासीको जीवनस्तर उकास्नेदेखि पर्यटक बढाउनेसम्मको काममा सामेल हुनु पर्छ l पूर्वाधारविद् डा. सूर्यराज आचार्यले पनि कूटनीतिलाई सरकार र राजनीतिक तहमा मात्रै नभई जनताको तहसम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो l त्यस्तै, अन्तर्राष्ट्रिय मामिलाविद् डा. लीला न्याइच्याईले नेपाल-भारत द्विपक्षीय कूटनीतिलाई थप मजबुत बनाउन भारतका विश्वविद्यालयहरूमा ‘नेपाली कर्नर’ (नेपाली कुना) खोल्न पहल गरी नेपाली भाषा र साहित्यको प्रवर्धन गर्नुपर्ने बताउनुभयो l पूर्व वक्ताहरूसँग सहमत हुँदै राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले नेपाल-भारत सीमा क्षेत्रका जनताले भोगेका समस्यालाई गम्भीर रूपमा लिँदै त्यसको सम्बोधनका लागि हाम्रो द्विपक्षीय कूटनीति थप सक्रिय रहनु आवश्यक भएकोमा जोड दिनु भयो l

कानुनविद् प्राध्यापक डा. विपिन अधिकारीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन सार्वजनिक गर्नका लागि आवश्यक वातावरण बनाउन कूटनीतिक पहलको जरुरी भएको बताउनुभयो l राष्ट्रिय महत्त्वका मुद्दा या विषयहरू निर्भीकताका साथ उठाउन सक्ने कूटनीतिक सामर्थ्यको विकास गर्न सम्बद्ध सबै पक्षसँग सहकार्य गर्नु पर्नेमा पनि उहाँको जोड रह्यो l

जनस्वास्थ्य अभियानका राष्ट्रिय संयोजक प्राध्यापक डा. शरद वन्तले दूतावासले सबै विषय र डेलिगेसनका प्रतिनिधिहरूलाई समान कूटनीतिक व्यवहार गर्नुपर्ने सुझाउनु भयो l

संवाद कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णु राज उप्रेतीले नेपालको द्विपक्षीय र अन्तर्राष्ट्रिय कूटनीतिका सम्बन्धमा प्रस्तुत विचार र सुझावहरू प्रतिष्ठानको अनुसन्धानका लागि मात्र नभएर नवनियुक्त राजदूत डा. शङ्कर शर्माका लागि पनि उपयोगी हुने बताउँदै संवादमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो l

उपस्थिति
सल्लाहकार समिति सदस्य, नीति अनुसन्धान प्रतिष्ठान

१. प्रा. सुरेशराज शर्मा
२. सूर्यनाथ उपाध्याय
३. प्रा.डा. मीना वैद्य मल्ल

पूर्वकार्यकारी अध्यक्ष, नीति अनुसन्धान प्रतिष्ठान
४. डा. गणेश गुरुङ

पूर्व बोर्ड सदस्य, नीति अनुसन्धान प्रतिष्ठान
५. डा. सुरेन्द्र लाभ

अवैतनिक वरिष्ठ सल्लाहकार, नीति अनुसन्धान प्रतिष्ठान
६. डा. डिल्ली राज खनाल
७. डा. सूर्यराज आचार्य
८. प्रा. डा. गोविन्दराज पोख्रेल
९. श्री लीलामणि पौड्याल
१०. मा. डा. विमला राई पौड्याल
११. प्रा. श्रीकृष्ण श्रेष्ठ
१२. डा. मानबहादुर विश्वकर्मा
१३. डा. नेत्रप्रसाद तिम्सिना
१४. प्रा. डा. मनप्रसाद वाग्ले
१५. मा. डा. बिन्दा पाण्डे
१६. प्रा. विपिन अधिकारी
१७. डा. शङ्कर शर्मा
१८. मा. पुष्पा भुषाल
१९. प्रा. डा. शरद वन्त
२०. श्री केदारभक्त श्रेष्ठ
२१. डा. दिनेश भट्टराई
२२. डा. लीला न्याइच्याई
२३. प्रा. डा. खड्ग केसी
२४. श्री दुर्गा प्रसाद भट्टराई
२५. प्रा.डा. रञ्जना गुप्ता
२६. प्रा. डा. जीवराज पोखरेल
२७. डा. सङ्गीता कौशल
२८. डा. तीर्थ ढकाल

अन्य आमन्त्रित आगन्तुक
२९. ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेल
३०. श्री कृष्ण अधिकारी

प्रतिष्ठान परिवार