२७-२८ भाद्र २०८२
बेइजिङ्, चीन
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा र अनुसन्धानकर्ता डा. हरि प्रकाश चन्द सन् २०२५ को सेप्टेम्बरमा जनगणतन्त्र चीनको Chinese Academy of History द्वारा आयोजित “फर्स्ट वर्ल्ड हिस्ट्री फ्रन्टियर्स फोरम” नामक दुई-दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभयो । यस सम्मेलनको आयोजना चिनियाँ सामाजिक विज्ञान एकेडेमी (Chinese Academy of Social Sciences [CASS]) अन्तर्गतका पुरातत्त्व संस्थान, प्राचीन इतिहास संस्थान, आधुनिक इतिहास संस्थान, विश्व इतिहास संस्थान, चिनियाँ सीमावर्ती अध्ययन संस्थान, ऐतिहासिक सिद्धान्त संस्थान तथा CASS विश्वविद्यालय जस्ता विभिन्न अनुसन्धान संस्थाहरूले गरेका थिए ।
उक्त सम्मेलनमा संसारभरिका थिङ्क ट्याङ्कका प्रमुखहरू, प्राज्ञहरू, प्राध्यापकहरू, अनुसन्धानकर्ता तथा इतिहास, सभ्यता, सङ्ग्रहालय, पुरातत्व र सामाजिक विज्ञानका विज्ञहरू लगायत २५० विशेषज्ञहरू प्रस्तुतकर्ता तथा छलफलकर्ताको सहभागिता थियो । उहाँहरूले आफ्ना देशहरूको इतिहास, सभ्यता, सङ्ग्रहालय र पुरातत्वसम्बन्धी विषयहरू निम्न सात शीर्षक अन्तर्गत छलफल गर्नुभएको थियो:
यी शीर्षक अन्तर्गत जम्मा १८१ वटा शोधपत्रहरू प्रस्तुत गरिएको थियो । सम्मेलनको क्रममा, प्राध्यापक शर्माले “मानव सभ्यताहरूका ऐतिहासिक मार्गचित्र र भविष्य: मानवजातिको दिगो भविष्यका लागि पुनःस्थापना” शीर्षकमा प्रस्तुति दिनुभयो । उहाँको प्रस्तुतिमा समाजवाद र मानवतावादी दर्शनमा आधारित वैकल्पिक मार्गहरूलाई अन्वेषण गर्दै मानवजातिको भविष्यलाई पुनःकल्पना गर्ने प्रयास गरिएको थियो । ऐतिहासिक मार्गचित्रहरूले सभ्यताहरू उदय हुने, फस्टाउने र पतन हुने तथ्यलाई पुष्टि गर्छन्, तर तिनले मानवजातिको सामूहिक भविष्यका लागि अविस्मरणीय पाठहरू छोडेर जाने भन्दै उहाँले सभ्यताहरूको अस्तित्व र समुन्नतिका लागि टकरावभन्दा संवाद, शोषणभन्दा समता, र अल्पकालीन आर्थिक लाभभन्दा दिगोपन आवश्यक हुने तर्क गर्नुभयो, जुन मानवजातिको साझा भविष्यका लागि सम्भावित समाजवादी मोड हो ।
त्यसैगरी, डा. चन्दले “नेपाली सभ्यताको मार्गचित्र: नेपाल–चीन ऐतिहासिक सम्बन्धको दृष्टिकोणबाट एक सङ्क्षिप्त अवलोकन” शीर्षकको आफ्नो अनुसन्धानपत्र प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सभ्यताहरू बाह्य प्रभावबाट पूर्णतः स्वतन्त्र हुँदैनन् । तथापि, नेपाली सभ्यता अन्य सभ्यताहरूबाट प्रभावित भएको देखिन्छ, जुन लिच्छवि वंशको शासन स्थापना गर्न शासकहरूको ऐतिहासिक आप्रवासन र नयाँ जनसङ्ख्या खोजसँग अन्तरसम्बन्धित छ । नेपालको सभ्यतागत विकासका लागि अझ गहन अनुसन्धान र नेपाललाई ‘सफ्ट पावर’ का रूपमा विश्वीकरण गर्न पर्याप्त लगानी आवश्यक छ भन्ने उहाँको अनुसन्धानको मुख्य निष्कर्ष रहेको छ ।
सम्मेलनपछि सबै प्रतिनिधिहरूका लागि हेनान प्रान्तमा दुई-दिने स्थलगत अनुसन्धान भ्रमणको व्यवस्था गरिएको थियो, जसअन्तर्गत चीनको पाँच हजार वर्ष लामो इतिहास र सभ्यताको अवलोकन, छलफल तथा विश्लेषण गरियो । भ्रमणपछि नेपाल, चीन, इजिप्ट, पेरु र कोलम्बियाका युवा अनुसन्धानकर्ताहरू झेङ्झाउ, लुओयाङ र सीयान सहरहरूमा १०-दिने स्थलगत अनुसन्धान भ्रमणमा सहभागी हुनुभयो । यस अवधिमा उहाँहरूले १५ भन्दा बढी सङ्ग्रहालय, पुरातात्त्विक स्थलहरू तथा तीन विश्वविद्यालयहरूको अवलोकन गर्नुभयो । विभिन्न सङ्ग्रहालय, पुरातात्त्विक स्थल तथा विश्वविद्यालयका संकायहरूमा विचार-विनिमय, छलफल र प्रस्तुतिहरू गरिएको थियो ।
नेपालको तर्फबाट डा. हरि प्रकाश चन्दले नेपाली सभ्यता, बौद्ध धर्म र नेपाल-चीन सम्बन्धबारे सभ्यतामूलक दृष्टिकोणबाट नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । साथै, उहाँले सान्सी नर्मल विश्वविद्यालयमा “सभ्यतामूलक दृष्टिकोणबाट नेपाल-चीन रणनीतिक साझेदारी “ विषयक विस्तृत प्रस्तुति गर्नुभएको थियो ।
यस स्थलगत भ्रमणका क्रममा केही चिनियाँ विश्वविद्यालयहरू तथा CASS ले नीति अनुसन्धान प्रतिष्ठानसँग द्विपक्षीय सहकार्य स्थापना गर्न रुचि देखाएका थिए ।