नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी सरकारको तयारीका सन्दर्भमा २०८३ जेठ १३ गते प्रतिष्ठानका पूर्वपदाधिकारी तथा सल्लाहकारहरूसँग अन्तरक्रिया सम्पन्न गरियो । उक्त अन्तर्क्रियामा प्रतिष्ठानको भावी स्वरूप, भूमिका तथा संस्थागत व्यवस्थाबारे विस्तृत छलफल भएको थियो ।

कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका सदस्यहरूको पद रिक्त रहँदा संस्थाले भोग्नुपरेका विभिन्न प्रशासनिक तथा व्यवस्थापकीय कठिनाइहरूबारे जानकारी गराउनुभयो । साथै, नेपाल सरकारको १०० बुँदे कार्यसूची तथा राष्ट्रिय प्रतिबद्धतामा प्रतिष्ठानको पुनर्संरचना गर्ने विषय समावेश भएको र यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत प्रारम्भिक छलफल भइसकेको जानकारी गराउँदै प्रतिष्ठानका तर्फबाट उपयुक्त सुझाव तयार गरी प्रस्तुत गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा सहभागीहरूले प्रतिष्ठानको पुनर्संरचनागर्दा यसको स्वायत्तता, स्वतन्त्रता तथा कार्यगत स्वतन्त्रता (operational and functional autonomy) कुनै पनि अवस्थामा कमजोर हुन नहुनेमा जोड दिनुभएको थियो। प्रतिष्ठानको आफ्नै कानुनी आधार, वित्तीय स्वायत्तता तथा मानव संसाधन व्यवस्थापनमा स्वतन्त्र अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । सरकारबाट वित्तीय सहयोग प्राप्त गरे तापनि अनुसन्धानका विषय, निष्कर्ष तथा संस्थागत निर्णयमा हस्तक्षेप हुन नहुने व्यवस्था कानुनमै स्पष्ट हुनुपर्ने उहाँहरूको धारणा रहेको पाइयो ।

सहभागीहरूले प्रतिष्ठानको कार्यादेश (mandate) थप स्पष्ट गर्न सकिने बताउँदै राष्ट्रिय योजना आयोग, विश्वविद्यालय तथा अन्य अनुसन्धान संस्थासँग कार्यगत दोहोरोपन नहुने गरी पूरक भूमिका निर्धारण गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । नीति निर्माण प्रक्रियामा प्रमाणमा आधारित सुझाव प्रदान गर्ने, नीति तथा कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्ने तथा प्राप्त नतिजाका आधारमा नीतिगत पृष्ठपोषण दिने संस्थाका रूपमा प्रतिष्ठानलाई विकास गर्नुपर्ने धारणा सहभागीहरूबाट आएका थिए ।

त्यसैगरी, प्रतिष्ठानलाई राष्ट्रियस्तरको स्वतन्त्र ‘थिंक ट्याङ्क’ का रूपमा विकास गर्न ज्ञान व्यवस्थापन, ज्ञान रूपान्तरण, अन्तरविषयगत अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा डिजिटल रूपान्तरणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको थियो । विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र तथा नागरिक समाजबाट उपलब्ध ज्ञान, अनुभव र प्रमाणलाई नीतिगत प्रक्रियासँग जोड्ने पुलका रूपमा प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूको जोड रहेको थियो ।

छलफलका क्रममा सरकार अन्तर्गत रहेका विभिन्न अनुसन्धान तथा नीतिसम्बन्धी संस्थाहरूबिचको सम्बन्ध, सम्भावित एकीकरण वा पुनर्संरचनाका विभिन्न विकल्पहरूबारे पनि विचार-विमर्श भयो । सहभागीहरूले जुनसुकै संरचनागत मोडल अवलम्बन गरिए तापनि प्रतिष्ठानको संस्थागत अखण्डता, विश्वसनीयता, अनुसन्धान स्वतन्त्रता तथा नीतिगत अधिकार सुरक्षित रहनुपर्ने विचारहरू व्यक्त गरेका थिए । त्यसैगरी, प्रतिष्ठानलाई नेपाल सरकारका लागि दीर्घकालीन रणनीतिक चिन्तन, प्रमाणमा आधारित नीति अनुसन्धान तथा नीतिगत नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा सबैको मतैक्य रहेको थियो । साथै, अनुसन्धानका निष्कर्षहरूको प्रयोग र प्रभावलाई स्पष्ट रूपमा देखाउन सके प्रतिष्ठानको विश्वसनीयता तथा उपयोगिता अझ सुदृढ हुने पक्षमा अधिकांश सहभागीहरूको जोड रहेको थियो ।

कार्यक्रममा सहभागी पूर्वकार्यकारी अध्यक्षहरू, सल्लाहकारहरू तथा विज्ञहरूले व्यक्त गर्नुभएको सुझावका आधारमा प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी अवधारणापत्र तथा संस्थागत प्रस्तावको तयारी पूरा गर्ने विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरू

प्रतिष्ठानका पूर्वअध्यक्षहरू
१. प्रा. डा. लेखनाथ शर्मा
२. डा. विष्णुराज उप्रेती

राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्षहरू
३. डा. जगदिशचन्द्र पोखरेल
४. डा. प्रकाश कुमार श्रेष्ठ

अन्य सल्लाहकारहरू
५. प्रा. डा. नन्द बहादुर सिंह
६. दुर्गा प्रसाद भट्टराई
७. मधुरमण आचार्य
८. डा. सुजन मरहट्ठा
९. डा. तीर्थ ढकाल
१०. लीलामणि पौड्याल

नीति अनुसन्धान प्रतिष्ठानबाट सहभागीहरू
११. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
१२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
१३. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
१४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
१५. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
१६. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
१७. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१८. डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
१९. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
२०. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
२१. डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
२२. गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
२३. रिजा मानन्धर (सह-अनुसन्धानकर्ता)
२४. दिपेन्द्र प्रसाद पन्त (सह-अनुसन्धानकर्ता)
२५. सोनिया बस्याल (विश्लेषक)
२६. डा. देजिना थापा (विश्लेषक)
२७. प्रञ्जल रिजाल (विश्लेषक)
२८. सुधीर श्रेष्ठ (विश्लेषक)
२९. सञ्जु कुमारी सरबरिया (वरिष्ठ सहायक)
३०. गीता न्यौपाने (वरिष्ठ सहायक)
३१. पर्वत भट्टराई (वरिष्ठ सहायक)
३२. सुसन तामाङ (इन्टर्न)
३३. सन्दु सुबेदी (इन्टर्न)
३४. कुसुम ढुंगाना (इन्टर्न)
३५. सुलाक्षा भण्डारी (इन्टर्न)
३६. सृष्टिका न्यौपाने (इन्टर्न)
३७. राजु अधिकारी (इन्टर्न)

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।