logo/prilogo-1_suadpzs.jpeg

नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिक उत्सव समारोह सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिक उत्सव समारोह सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिक उत्सव समारोह सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न

२०८१ असोज १०

काठमाडौँ

नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो स्थापनाको ६ वर्ष पूरा गरेको अवसरमा एक समारोहको आयोजना गरी छैटौँ वार्षिकोत्सव मनाएको छ। सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्य र संसदीय समितिहरूका माननीय सभापतिहरूको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले प्रतिष्ठानको गतिविधि र योजना सम्बन्धी प्रस्तुति र प्रतिष्ठानका वरिष्ठ सल्लाहकार तथा शिक्षाविद् प्रा.डा. सुरेश राज शर्मा र पूर्व अर्थमन्त्री एवं सम्माननीय प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नीति प्रवचनहरू दिनुभएको थियो भने प्रतिष्ठानले बर्सेनि गर्दै आएको उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा नेपालमा नीति अनुसन्धान तथा प्रवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउँदै आएका संस्थाहरूलाई नीति सम्मान र नीति प्रशंसापत्रहरू प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानले यस वर्ष प्रकाशन गरेका दश प्रकाशनहरूमध्ये दुई प्रकाशनहरूको विमोचन पनि गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले स्वागत मन्तव्य तथा प्रतिष्ठानको गतिविधि र योजना सम्बन्धी प्रस्तुति राख्नुभएको थियो भने प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको शुभकामना सन्देश वाचन गरेर सुनाउनुभएको थियो।

सम्माननीय प्रधानमन्त्रीले नीति अनुसन्धान मुलुकका विकास प्राथमिकताहरूमा केन्द्रित हुनुपर्ने र द्रुत एवं प्रमाणमा आधारित गुणस्तरीय अनुसन्धानबाट नै नीति अनुसन्धान प्रतिष्ठान अपरिहार्य र राज्यको महत्त्वपूर्ण र प्रभावकारी निकाय बन्ने सन्देश दिनुहुँदै प्रतिष्ठानका विकास र विस्तारमा योगदान पुर्‍याउने हालसम्मका नेतृत्व, सल्लाहकार, अनुसन्धाता र कर्मचारीहरूलाई धन्यवाद दिनुभएको छ।

प्रतिष्ठानका कार्यकारी अध्यक्षले वहाँको प्रस्तुतिमा प्रतिष्ठानले नीति अनुसन्धानमा हालसम्म हासिल गरेका अनुसन्धान प्रकाशन, नीति पृष्ठपोषण र परामर्शहरू लगायतका उपलब्धिहरू, अनुसन्धानको बढ्दो माग र आवश्यकता तथा ऐनको अभाव लगायतका समस्याहरूको बारेमा बताउनुभएको थियो।

कार्यक्रममा यस वर्षको लागि प्रतिष्ठानका वर्ष कर्मचारीको रूपमा छानिएका श्री रीजा मानन्धरलाई रु २५ हजारको नगद सम्मान तथा प्रमाणपत्र र उत्कृष्ट कर्मचारीहरूको रूपमा छानिएका श्री दिपेन्द्र पन्त तथा श्री पदम बहादुर जिरेललाई प्रमाणपत्रहरू कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुखको हातबाट प्रदान गरिएको थियो।

वार्षिक उत्सवको अर्को विशेष कार्यक्रमको रूपमा नेपालमा नीति अनुसन्धान तथा प्रवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउँदै आएका संस्थाहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत नेपाल विकास अनुसन्धान प्रतिष्ठान (Nepal Development Research Institute) लाई रु १ लाखको नगद सम्मान सहित “नीति सम्मान २०८१” र अन्य दुई संस्थाहरू, समृद्धि फाउन्डेशन तथा इन्स्टिच्युट फर स्ट्रेटेजिक एण्ड सोसियो-इकोनोमिक रिसर्च, लाई “नीति प्रशंसापत्र” प्रदान गरी सम्मान गरिएको थियो। नीति सम्मान सिफारिस समितिका सदस्य प्रा.डा. मनप्रसाद वाग्लेले संस्थाहरूको छनोट प्रक्रियाबारे बताउँदै नतिजाको घोषणा गर्नुभएको थियो। डा. सोमलाल सुवेदीको संयोजकत्वमा प्रा.डा. मनप्रसाद वाग्ले र डा. श्यामु थापा मगर सदस्य भएको स्वतन्त्र समितिले नीति अनुसन्धान, नीति पृष्ठपोषण, नीति पैरवी, नीति क्षमता विकास क्रियाकलाप र डिजिटल उपस्थिति लगायतका सूचकहरू तथा संस्थाहरूले नै उपलब्ध गराएका सूचनाहरूको आधारमा संस्थाहरूको अन्तिम छनोट गरेको थियो। सम्मानित संस्थाहरूलाई प्रमुख अतिथि सम्माननीय सभामुखबाट सम्मानपत्र प्रदान गरिएको थियो।

नीति प्रवचनको सिलसिलामा प्रा.डा. सुरेश राज शर्माले नेपालको मुख्य समस्या रोजगारीको अभाव भएको र त्यो भनेको सबै क्षेत्रमा समस्या भएको हुनु हो भन्नुभयो। वहाँले शिक्षा ठिक भएमा सबै क्षेत्र ठिक हुने, आवश्यकता अनुसारको सामान्य र प्राविधिक शिक्षा हुनुपर्ने, विदेशी सहायता र ऋणमा पुनर्चिचार गर्नुपर्ने र नीति अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठानकै लागि नीति र ऐन नहुनु बिडम्बना भएको विचार व्यक्त गर्नुभयो।

अर्का नीति प्रवचक डा. युवराज खतिवडाले आफू अर्थमन्त्री हुँदा नीति अनुसन्धान प्रतिष्ठानको जन्म भएको स्मरण गर्नुहुँदै यति महत्त्वपूर्ण जिम्मेवारी भएको संस्थाको बजेट कम भएको भए क्षमा माग्नु पर्ने बताउनुभयो। वहाँले नेपालको सामाजिक आर्थिक नीतिहरूको पुन:इन्जिनियरिङको विषयमा बोल्दै केही नीतिहरू पुनर्अभिमुखीकरण मात्र गरे पुग्ने र केही नयाँ डिजाइन गर्नुपर्ने खालका रहेका बताउनुभयो। मुलुकका आर्थिक र सामाजिक आवश्यकता, चुनौती र अवसरहरूका लामा सूचीका साथ वहाँले हाम्रो लक्ष्य मानव केन्द्रित, समन्यायिक र दिगो समृद्धि हो भन्नुहुँदै वृत्तात्मक अर्थतन्त्र, ई-अर्थतन्त्र, ई-व्यापार, ई-वित्त, वित्तीय-प्रविधि, नयाँ सामान्य स्थिति, नयाँ सामाजिक सम्झौता, सरकार र बजारको मध्यमार्ग, समानुपातिक गरिबी न्यूनीकरण, व्यापार र उद्योगको सन्तुलन, उत्पादन प्रणालीको पुनर्संरचना, सामाजिक उपलब्धिहरूको दिगोपन, शिक्षामा संरचनागत सुधार, सामाजिक न्याय र वातावरण संरक्षण सहितको विकास लगायतका विविध विषयमा बोल्नुभयो।

प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले नीति अनुसन्धान प्रतिष्ठानको प्रगतिमा योगदान गर्ने सबै पदाधिकारी र कर्मचारीलाई धन्यवाद दिँदै नीति अनुसन्धान अन्य अनुसन्धान भन्दा भिन्न भएको र यसले नीति परिवर्तन र नवप्रवर्तन तथा सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई सहयोग पुर्‍याउने कार्य गर्नुपर्ने बताउनु भयो। वहाँले प्रतिष्ठानलाई मन्त्रालयहरू र विश्वविद्यालयहरूसँग सहकार्य, विषय विज्ञहरूको उपयोग र प्रविधिको प्रयोग गर्न सुझाव दिनुभयो। वहाँले भन्नुभयो प्रतिष्ठानले गर्ने अध्ययन गहन र प्रमाणमा आधारित हुने हुनाले संघीयता जस्तो विषयमा भावनामा आधारित बहस भइरहेको अवस्थामा यस विषयमा पनि प्रतिष्ठानको अध्ययन अनुसन्धान र सुझाव अपेक्षा गरिएको छ। संसदले कानूनको मस्यौदा बनाउँदा पनि प्रतिष्ठानसँग सहकार्य र सहभागिता अपरिहार्य भएको बताउनुहुँदै वहाँले संघीय संसद, संसद सचिवालय र नीति अनुसन्धान प्रतिष्ठानको सहकार्य भइरहेकोमा खुसी व्यक्त गर्दै मुलुकको नीति बनाउन सहयोग गर्ने महत्त्वपूर्ण र गहन जिम्मेवारी भएको प्रतिष्ठानलाई आर्थिक बोझको रूपमा लिन नहुने बताउनुभयो। अन्त्यमा, वहाँले नीति निर्माणमा सहयोग गर्ने नीति अनुसन्धान प्रतिष्ठानकै नीति नभएको विडम्बनापूर्ण वर्तमान स्थितिमा यसको विधेयक संसदमा यथाशीघ्र प्रस्तुत गरी ऐन बनाउन आवश्यक भएको र यसमा आफ्नो भूमिका हुने कुरा बताउनुभयो।

विशिष्ट अतिथि, पूर्वाधार विकास समितिका सभापति मा. दिपक बहादुर सिंह, ले नीति कार्यान्वयन सक्षमता, नीतिको समान व्याख्या र पालना, बजेटको न्यायपूर्ण वितरण, राष्ट्रिय विकास सेवा सहितको शिक्षा, राष्ट्रिय मर्यादा र देशले थेग्न सक्ने संरचनाको आवश्यकताबारे बोल्नुभयो।

अर्का विशिष्ट अतिथि, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति, मा. कुसुमदेवी थापाले बाँझो जमिनको उपयोग, आत्मनिर्भरता, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण लगायतका विषयमा बोल्नुभयो।

त्यस्तै, अर्का अर्का विशिष्ट अतिथि, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति मा. बिमला सुवेदी, ले कानून र नीतिको परीक्षण, समाज सुहाउँदो नीति र नीतिगत सहकार्य एवं सहयोगको बारेमा बोल्नुभयो।

अन्तिम विशिष्ट अतिथि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मा. माया प्रसाद शर्मा, ले समितिको कार्यक्षेत्रमा नै सार्वजनिक नीति भएको र हाल समितिले १४१ वटा नीतिहरूको बारेमा छलफल गरिरहेको तथा समिति र नीति अनुसन्धान प्रतिष्ठानको भेटघाट र छलफल बारम्बार भइरहेको बताउनुभयो।

कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्षले आजका वक्ताहरूबाट प्रतिष्ठानलाई मूल्यवान् अभिमुखीकरण प्राप्त भएको बताउनुहुँदै नीति अनुसन्धान भनेको वैज्ञानिक पद्धतिबाट गरिने अनुसन्धान भएकोले सबै विज्ञ र संस्थासँग सहकार्य गरिने र सामूहिक प्रयत्नबाट मुलुकको नीति प्रवर्तन गर्न सकिने बताउनुभयो।

कार्यक्रममा मन्त्रालयहरू, विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू, सरकारी र गैरसरकारी थिङ्क ट्याङ्कहरूका प्रतिनिधिहरू र स्वतन्त्र विज्ञहरू गरी १३१ जना अतिथिहरू र नीति अनुसन्धान प्रतिष्ठानका सबै कर्मचारीहरू सहभागी भएका थिए।

वक्ता अतिथिहरू:

सम्मा. देवराज घिमिरे (सभामुख, प्रतिनिधि सभा)
मा. दिपक बहादुर सिंह (सभापति, पूर्वाधार विकास समिति, प्रतिनिधि सभा)
मा. कुसुमदेवी थापा (सभापति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, प्रतिनिधि सभा)
मा. बिमला सुवेदी (सभापति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रतिनिधि सभा)
मा. माया प्रसाद शर्मा (सभापति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, राष्ट्रिय सभा)
डा. युवराज खतिवडा (सम्माननीय प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार)
प्रा. डा. सुरेश राज शर्मा (पूर्व उपकुलपति, काठमाडौँ विश्वविद्यालय)

यस छैटौँ वार्षिक उत्सव समारोहको फोटोहरुका लागि यहाँ क्लिक गर्नु होला